काठमाडौँ । नेपालको अटोमोबाइल व्यवसाय क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी मानिने ‘नाडा अटो साे २०२५’ का लागि स्टल वितरण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा हुने यो प्रदर्शनी आगामी भदौ ३ देखि ८ गतेसम्म (अगस्ट १९ देखि २४, २०२५) काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने तय भएको छ।
वि.सं. २०५५ सालदेखि सुरू भएको नाडा अटो साे समयसँगै नेपाली अटो व्यवसाय क्षेत्रको प्रमुख प्रदर्शनीको रूपमा स्थापित भएको छ। प्रविधि, नवप्रवर्तन र गतिशीलता प्रवर्धनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
यस संस्करणमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे, हलुका व्यावसायिक सवारीसाधन तथा अटो भागपूर्जाका क्षेत्रमा ७० भन्दा बढी प्रतिष्ठित ब्रान्डले सहभागिता जनाउँदैछन्। चारपाङ्ग्रे सवारीका क्षेत्रमा टाटा, सुजुकी, टेस्ला, बिओवाईडी, एक्सपेंग, एभिटर, डिपाल, रिड्डारा, स्काईवेललगायतका ब्रान्ड छन्। दुईपाङ्ग्रेमा हिरो, रोयल एनफिल्ड, यामाहा र जोन्सन छन् भने हलुका व्यावसायिक सवारीमा डोङफेङ, फोटोन, किङलङ, मोन्त्रालगायतका ब्रान्डले सहभागिता जनाउनेछन्।
अटो कम्पोनेन्टहरूमा पनि विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डहरू उपस्थित हुनेछन्। एसियन, गल्फ, लिक्वी मोलि, माइक्रोबिज, म्याक, टोटल इनर्जी, स्पाइसर, जेक/गुड टायर, इलेक्ट्रिक सवारी चार्जर, स्टड्स/एसएमकेजस्ता कम्पनीहरूले स्टल लिएका छन्।
यो वर्षको अटो साेमा ‘नेपालमै बनेका सवारीसाधन तथा अटो उत्पादनहरू’ समेटिएको ‘मेड इन नेपाल’ पविलियन, पुराना सवारीसाधनको ‘विन्टेज कार’ पविलियन र अटोमोबाइल नीति र प्रवृत्तिबारे छलफल हुने ‘अटो संवाद’ कार्यक्रमहरू रहनेछन्। साथै, प्रदर्शनस्थलमा क्याफे तथा इटेरीको समेत व्यवस्था गरिनेछ।
नाडा अटो शो २०२५ को मुख्य प्रायोजक (टाइटल प्रायोजक) ‘एमएडब्लु समूह’ रहनेछ। आयोजकका अनुसार, एमएडब्लुले एक नविन तथा अन्य कम्पनीहरूसँग प्रतिस्पर्धा नगर्ने उत्पादनमार्फत साेमा सहभागिता जनाउनेछ।
नेपाली अटोमोबाइल व्यवसायलाई नयाँ प्रविधि, नवीनतम उत्पादन र नीति संवादमार्फत अगाडि बढाउने लक्ष्यसहित यो वर्षको नाडा अटो साे सम्पन्न हुने विश्वास आयोजकले व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्