यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले जनताका पीडा र वेदनालाई सम्बोधन गर्न नसकेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अहिले देशको राजनीतिक अवस्था हेर्दा सरकारले मुलुकलाई राम्रोसँग हाँक्न नसकेको बताए ।

उनले भने , ‘अहिले हाम्रो देशको राजनीतिक अवस्थालाई चर्चा गर्ने हो भने सरकारले मुलुकलाई राम्रोसँग हाँक्न सकेको छैन । जनभावनालाई बुझ्न सकेको छैन । जनचाहनालाई सम्मान गर्न सकेको छैन । सही नीति अवलम्वन गर्न सकेको छैन । जनताका पीडा, वेदनालाई सम्बोधन गर्न पनि सकेको छैन ।

उनले सरकारले जनभावनालाई बुझ्न र जनचाहनाको सम्मान गर्न नसकेको उल्लेख गर्दै सरकारले जनताको विश्वास पनि जित्न नसक्ने र जनचाहना बमोजिम परिणाम दिने कुनै पनि अवस्था नरहेको बताए ।

वर्तमान सरकार जनमुखी नभइ जनविरोधी, सुशासनको नभइ कुशासनको पक्षपोषक हुँदा सरकारलाई साथ दिन नसकेको नेपालले बताए ।
देशमा आर्थिक मन्दी र बेरोजगारी बढेको भन्दै नेपालले वर्तमान सरकारको पतन अनिवार्य रहेको हुँदा पतनको समय मात्रै पर्खिनुपर्ने बताए ।