काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड ग्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पहिलोपटक आयोजना गर्न लागेको ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ का लागि तयारी तीव्र बनाउँदै लगेको छ।
तर, साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भनिएको यो नयाँ प्रदर्शनीका लागि आयोजक संस्थाले अझै टाइटल प्रायोजक घोषणा गर्न सकेको छैन।
अटोमोबाइल क्षेत्रमा ५० वर्षको लेगेसी बोकेको संस्था नाडासँग प्रतिस्पर्धा गर्ने उद्देश्यले नाइमाले छुट्टै अटो साे आयोजना गर्न लागेको हो।
उपभोक्तालाई नयाँपन दिने भन्दै अघि बढेको नाइमाले स्टल बाँडफाँड प्रक्रिया भने सकिसकेको छ। प्रदर्शनीमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे र व्यावसायिक सवारी साधनका गरी ५० भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ।
कुल ४८ स्टलमध्ये २१ वटा चारपाङ्ग्रे, १८ वटा दुईपाङ्ग्रे र ९ वटा व्यावसायिक सवारी साधन ब्रान्डहरूलाई दिइएको छ। तर, यति नजिकिँदै गएको प्रदर्शनीको मिति हुँदाहुँदै पनि शीर्ष प्रायोजक नतोकिँदा अटोमोबाइल बजारमा नाइमाको व्यवस्थापन क्षमताप्रति प्रश्न उठ्न थालेको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आगामी भदौ ३ देखि ८ गतेसम्म हुने ‘नाडा अटो शो २०२५’ का लागि भने टाइटल प्रायोजकको रूपमा एमएडब्लु समूहको नाम आधिकारिक रूपमा घोषणा भइसकेको छ।
आयोजकका अनुसार, एमएडब्लुले नविन प्रविधि समेटिएको र प्रतिस्पर्धा नगर्ने उत्पादनमार्फत सहभागिता जनाउने छ।
विसं. २०५५ देखि निरन्तर हुँदै आएको नाडा अटो सो नेपाली अटो व्यवसाय क्षेत्रको प्रमुख प्रदर्शनीका रूपमा स्थापित भइसकेको छ। यसपटक प्रदर्शनीमा ७० भन्दा बढी प्रतिष्ठित ब्रान्डहरूको सहभागिता रहनेछ।
साथै, ‘मेड इन नेपाल’ पविलियन, पुराना सवारी साधन समेटिएको ‘विन्टेज कार’ पविलियन र नीति तथा प्रविधिमा केन्द्रित ‘अटो संवाद’ जस्ता कार्यक्रमहरू समेत समावेश गरिनेछ।
व्यावसायिक दृष्टिकोणले हेर्दा, कुनै पनि प्रदर्शनीको पहिचान निर्माण गर्न टाइटल प्रायोजकले महत्वपूर्ण भूमिका खेल्ने हुन्छ।
पहिलोपटक अटो सो गर्दै गरेको नाइमाको लागि यो झनै आवश्यक देखिन्छ तर समयसन्धिमा समेत घोषणा हुन नसक्नुले नाइमाको तयारीबारे बजारमा अन्योलता उत्पन्न गराएको छ।
अटाे शाे नजिकिदै गर्दा नाइमाले प्रचारप्रसार र ब्रान्डिङमा ध्यान नदिइएकाे भन्दै केही सदस्यले असन्तुष्टी समेत जनाएका छन् ।
एक सदस्यले भने,”यो स्वाभाविक रुपमा प्रतिस्प्रधा हो तर न प्रचारप्रसार छ न ब्रान्डिङ छ । पहिलोचोटी हुन लागेको मोबिलिटी एक्स्पोमा नेतृत्वले हेलचक्राइँ गर्न हुँदैन ।”
प्रतिक्रिया दिनुहोस्