काठमाडौँ । वि.पि. राजमार्गको सिन्धुली खण्ड हुँदै काठमाडौँतर्फ जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनहरूमा रातको समयमा थप ३० दिनसम्म निषेध गरिएको छ।
मनसुन सक्रिय अवस्थामा रहेको र असिन तथा पहिरोका कारण आकस्मिक विपद् सिर्जना हुने सम्भावना उच्च रहेको भन्दै जिल्ला सुरक्षा समितिको सिफारिसमा उक्त निर्णय गरिएको हो।
यसअघि, काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाबिच सम्पन्न संयुक्त सुरक्षा बैठकको निर्णयअनुसार असार ६ गतेदेखि असार २० गतेसम्म १५ दिनका लागि रातको समयमा (साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म) यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाइएको थियो। सोही निर्णयलाई निरन्तरता दिँदै अब आगामी ३० दिनसम्म पनि निषेधाज्ञा जारी राखिएको हो।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार सो अवधिमा सिन्धुलीको खुर्कोटबाट काठमाडौँतर्फ जान चाहने सार्वजनिक वा निजी यात्रुवाहक सवारीहरू साँझ ६ः३० बजेपछि र बिहान ५ः०० बजेअघि सञ्चालन गर्न पाउने छैनन् ।
प्रतिक्रिया दिनुहोस्