स्याङजामा सुन चोरीमा संलग्न दुई जना पक्राउ, आधा तोलाको बाला सहित सुन बरामद


काठमाडाैँ । स्याङ्जाको वालिङ नगरपालिका–६ स्थित एक निजी घरबाट चोरी भएको सुनको बाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङजाको अनुसार आषाढ १७ गते थानकुमारी पाण्डेको घरबाट करिब आधा तोला बराबरको सुन जडित पञ्चरत्ने बाला चोरी भएको सूचना पाएपछि अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानको क्रममा प्रहरीले आषाढ १९ गते घटनामा संलग्न दिपा क्षेत्री, चापाकोट नगरपालिका–४ स्थायी बासिन्दा र हाल वालिङ–६ बसोबास गर्दै आएकी महिला र दुर्गा बिक, वालिङ नगरपालिका–९ निवासी पुरुषलाई पक्राउ गरेको हो। उनीहरूबाट चोरी भएको दुई थान पञ्चरत्ने बाला समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले आषाढ २० गते स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई उनीहरूविरुद्ध चोरी मुद्दामा कानूनी प्रक्रिया अघि बढाएको छ। साथै, प्रहरीले उनीहरूले यसअघि पनि वरपरका घरहरूमा पसेर सुन चोर्ने क्रियाकलापमा संलग्न भएको सूचनाहरू प्राप्त भएको जनाएको छ।