काठमाडौँ । संरक्षित कृषि संरचनासम्बन्धी सरोकारवालाहरूसँगको राष्ट्रियस्तरको अन्तरक्रिया कार्यक्रम खुमलटारमा सम्पन्न भएको छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय कृषि इञ्जिनियरिङ अनुसन्धान केन्द्रद्वारा आयोजित उक्त कार्यक्रममा प्लास्टिक हाउस र ग्रीनहाउस प्रविधिको प्रभावकारी प्रयोग, समस्याहरू र समाधानका उपायहरूबारे गहन छलफल गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै नार्कका कार्यकारी निर्देशक डा.कृष्णप्रसाद तिम्सिनाले अनुसन्धानमार्फत राष्ट्रको आर्थिक उत्थान सम्भव हुने भएकाले यस्ता संरचनामा गरिने अनुसन्धानका लागि आवश्यक नीति तथा योजना तयार पार्न परिषद् सदा तत्पर रहेको बताए। उनले प्रविधिको सफल प्रवर्द्धनका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको र परिषद् त्यसको लागि तयार रहेको पनि स्पष्ट पारे।
कार्यक्रमका अध्यक्ष तथा अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीमत श्रेष्ठले साना किसानका लागि विकास गरिएको प्लास्टिक घरको नमूना संरचनालाई तोडमोड गरी ठूलो लगानीमा निर्माण गरिँदा किसानले लागतसमेत उठाउन नसक्ने समस्या देखिएको बताए।
अनुसन्धान संस्थाले त्यसको समाधान निकालिसकेको भए पनि प्रचार अभावले त्यो जानकारी किसानसम्म पुग्न नसकेको उनको भनाइ थियो।
वैज्ञानिक डा.शिवकुमार झाले कार्यक्रममा प्लास्टिक हाउस र ग्रीनहाउस प्रविधिको नेपालमा उपयोगिता, चुनौती तथा सम्भावनाबारे कार्यपत्र प्रस्तुत गर्दै वैज्ञानिक आधारमा नीति निर्माणको खाँचो औंल्याए।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रतिनिधि डा। जितबहादुर चन्द, राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रकी डा. रञ्जना रावल, तथा राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका डा। रामबहादुर खड्कालगायतले समेत आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए।
सहभागीहरूले प्रविधि विकास हुनु अगावै पूर्वतयारी र योजना आवश्यक रहेको धारणा राख्दै यथासमयमा अनुसन्धान संस्थाले थालेको प्रयास सराहनीय रहेको र अब नीति निर्माणदेखि कार्यान्वयनसम्म सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा परिषद्को योजना तथा समन्वय निर्देशनालयका निर्देशक डा.भानुभक्त पोख्रेल, नार्क तथा कृषि विभाग अन्तर्गतका विभिन्न निकायका प्रमुखहरू, निजी क्षेत्रका व्यवसायीहरू, वैज्ञानिक तथा प्राविधिकहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन इञ्जिनियर गंगाराम भण्डारीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्