३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै नेपाल एसबिआई बैंक, ब्याजदर कति ?


काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले असार ३० गतेदेखि १० वर्षे अवधिको ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । यस ऋणपत्रमा लगानीकर्ताले ७ प्रतिशत ब्याजदर पाउनेछन् ।

बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत रूपमा बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता सर्वसाधारणका लागि खुला गरिनेछ।

सर्वसाधारणका लागि निष्काशन गरिने १२ लाख कित्तामध्ये ५ प्रतिशत (६० हजार कित्ता) सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम उपलब्ध सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनको अन्तिम म्याद छिटोमा साउन १ गते र ढिलोमा साउन १२ गतेसम्म तोकिएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।