काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले साना किसानले सहज ढंगले कृषि कर्जा पाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन्।
आइतबार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेलसँगको भेटमा मन्त्री अधिकारीले कृषि कर्जा सहज, सरलीकृत र प्रभावकारी बनाउने विषयमा विशेष जोड दिएका हुन्।
“कृषिमा गरिने लगानीले मात्र गरिबी हटाउने लक्ष्य पुरा हुन्छ। तर, किसानले सहज रुपमा ऋण नपाउने र ऋण लिनेले पनि कृषिमा नभइ अन्य क्षेत्रमा प्रयोग गर्ने प्रवृत्तिले कृषि क्षेत्रमै नकारात्मक असर पुर्याउँछ,” मन्त्री अधिकारीले भने। उनले कृषि कर्जाको सही सदुपयोग भएको छ वा छैन भनेर प्रभावकारी अनुगमन आवश्यक भएको उल्लेख गरे।
उनले सरकारी स्वामित्वका बैंकहरूले समेत कृषि कर्जा विस्तार गर्नुपर्नेमा जोड दिँदै, राष्ट्र बैंकले बनाएका कृषि कर्जा सम्बन्धी नीतिहरूको पालना अनिवार्य गर्नुपर्ने धारणा राखे। “कसैले ऋण नपाउने, कसैले लिएर पनि कृषिबाहिर प्रयोग गर्ने स्थिति अब सह्य हुँदैन,” मन्त्री अधिकारीले भने ।
गर्भनर पौडेलले भर्खरै जिल्लाहरूमा भ्रमण गर्दा ‘माटो खेलाउने किसानले ऋण नपाउने, कागज खेलाउनेले ऋण पाउने’ गुनासो सुनेको भन्दै, वास्तविक किसानलाई प्राथमिकतामा राखेर सबै पक्षले सहकार्य गर्नुपर्ने धारणा राखे।
आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तयारीको सन्दर्भमा भएको मन्त्री अधिकारी र गर्भनर पौडेलबीचको भेटलाई विश्लेषकहरूले महत्वपूर्ण मानेका छन्।
भेटमा मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्मा, डा.दीपक कुमार खराल, पशुसेवा विभागका महानिर्देशक डा.रामनन्दन तिवारी, मन्त्रीका निजी सचिव तथा वरिष्ठ वाली संरक्षक रोशन अधिकारी, राष्ट्र बैंकका निर्देशक शरणकुमार अधिकारीलगायतको सहभागिता थियो।
प्रतिक्रिया दिनुहोस्