दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी छः राष्ट्रपति पाैडेल


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताएका छन् ।

सोमवार राष्ट्रपति भवन शितलनिवासमा एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै उनले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय र खुशी तुल्याउने खालको रहेको बताएका हुन् ।

परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउनसके देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने खेलाडीले थप कीर्तिमान पनि राख्नसक्ने जिकिर गरे । देशभित्रै बढी भन्दा बढी पूर्वाधार प्रतियागिता र प्रशिक्षण बढाएर देश, विदेशमा प्रतिष्पर्धा गर्नसक्ने दक्ष खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट आइतवार साँझ स्वदेश फर्किएको हो । गत शनिवार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो ।