कुलिङ अफ पिरियड प्रकरण संसदीय अभ्यासमा कलङ्कित कथा बुनिएको होः सांसद झा


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संघीय निजामति सेवा विधेयकमा गरिएको हेरफेरलाई लिएर संसदमा कडा आपत्ति जनाउँदै संसदीय अभ्यासमै कलङ्कित कथा बुनिएको टिप्पणी गरेका छन् ।

सोमवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले विधेयकको सबैभन्दा गम्भीर र महत्वपूर्ण मानिएको कुलिङ अफ पिरियड व्यवस्थामै छेडखानी गरेर सांसदहरूलाई नै ठगिएको आरोप लगाएका हुन् । उनका अनुसार प्रस्तावित व्यवस्थाभन्दा फरक धारणा पारित गरी विधेयकको मूल मर्ममै हस्तक्षेप गरिएको हो।

“भिजिट भिसामार्फत भइरहेका संगठित अपराधका सन्दर्भमा हाम्रो आन्दोलन जारी नै छ,” सांसद झाले भने, “त्यसैबिच संसदमा कुलिङ अफ पिरियडसम्बन्धी विषयलाई मोडेर नयाँ कथा बुनिएको छ, जुन संसदीय अभ्यासकै लागि कलङ्क हो।”

उनले समितिका सभापतिबाट आएको प्रस्तावभन्दा पूर्णतः फरक धारणा पारित गर्नु, त्यसप्रति कुनै स्पष्ट जवाफ नआउनु, र सांसदहरूमाथि छल गरिएको महसुस हुनु दुस्खद रहेको उल्लेख गरे ।

भिजिट भिसा प्रकरणबारे पनि सांसद झाले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन जारी रहेको स्मरण गराए । यी दुई दलले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानविन आयोग गठनको माग गर्दै लामो समयदेखि संसद अवरुद्ध गर्दै आएका छन्।