विदेशी विनिमय सञ्चिति २५ प्रतिशतले बढ्यो


काठमाडौं । कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा विनिमय सञ्चिति २५.९ प्रतिशतले बढेर २५६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

गत असार मसान्तमा विदेशी विनिमय सञ्चिति २०४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

राष्ट्रैंबैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ जेठ मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई १८ अर्ब ६५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु.१८४८ अर्ब ५५ करोड रहेकोमा गत जेठ मसान्तमा २३ प्रतिशतले वृद्धि भई रु.२२७४ अर्ब ४७ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.१९२ अर्ब ५५ करोड रहेकोमा गत जेठ मसान्तमा ५३.२ प्रतिशतले वद्धि भई रु.२९४ अर्ब ९२ करोड कायम भएको राष्ट्रबैंकले जनाएको छ ।

गत जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.५ प्रतिशत रहेको छ ।