शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब रूपैयाँले बचतमा


काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को जेठसम्ममा चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोड रुपैैयाँले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

जेठसम्ममा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ९६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो ।

यसैगरी, यो अवधिमा ११ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।

जेठसम्म शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब ६२ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।