जेठ महिनामा एक खर्ब ७६ अर्ब रूपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रियो


काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको हो ।

२०८२ जेठ महिनाको विप्रेषण आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६ अर्ब ६८ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ रहेको रहेको जनाएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८ हजार ६७ रहेको छ ।