उपभोग्य र विलासी वस्तुको आयात खुला राख्नु सरकारको बाध्यताः मन्त्री भण्डारी


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उपभोग्य र विलासी वस्तुको आयात खुला राख्नुपर्ने सरकारको बाध्यता रहेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले जनसंख्या वृद्धि, बढ्दो शहरीकरण र आयस्तर बढ्दै जाँदा उपभोग्य तथा विलासी वस्तुको माग तीव्र गतिमा बढेको भएपनि घरेलु उत्पादनले त्यसलाई धान्न सक्ने अवस्था नरहेको बताए । उनले छोटो अवधिमा राजस्व संकलनका लागि समेत आयात खुला राख्नु सरकारको बाध्यता भएको बताए ।

उनले भने , ‘कमजोर अर्थतन्त्र हुँदाहुँदै पनि उपभोग्य र विलासी वस्तुको आयातमा वृद्धि हुनुका कारणहरु नेपालमा जनसंख्या वृद्धि, शहरीकरण, आयस्तर बढ्दै जाँदा उपभोग्य तथा विलासी वस्तुको आवश्यकता पनि बढ्दै जान्छ । घरेलु उत्पादनले माग धान्न नसक्दा आयात निर्भरता बढेको छ । साथै उपभोग्य र विलासी वस्तुहरुको आयातले भन्सार राजश्वमा उलेख्य योगदान पुर्याएको छ । जसले सरकारलाई छोटो समयमा राजश्व संकलनका लागि आायत खुला राख्न प्रेरित राख्दछ ।’

मन्त्री भण्डारीले उपभोग्य र विलासी वस्तुको आयात बढ्दा सोधनान्तर घाटा बढिरहेको उल्लेख गर्दै नेपालमा निर्यातभन्दा आयात धेरै भएको कारण व्यापार घाटा र शोधनान्तर घाटा दुवै बढिरहेको बताए ।