काठमाडौँ। सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको छ । बुधवार सिंहदरबारमा बसेको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका संयोजक जीवन परियारले कार्यविधिका बारेमा मंगलवारबाट काम शुरु गरेको र बुधवारको बैठकले अन्तिम रुप दिएको जानकारी दिए । अब पारित गर्न मात्रै बाँकी रहेको उनको भनाइ छ ।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो । गडबडीबारे छानबिन गर्न प्रतिनिधि सभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो ।
समितिको संयोजकमा काँग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार छन् । संसदको नियमावली, २0७५ को नियम १८० बमोजिम गठन गरिएको समितिमा नेपाली काँग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य छन् ।
नेपाली काँग्रेसबाट संयोजक परियारसहित र सुशीला थिङ तथा नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा छन् । नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की छन् ।
उनले भने, “हामीले कार्यविधिका बारेमा छलफल अघि बढाएका थियौँ । त्यो कार्यविधि अब अन्तिम चरणमा पुगेको छ । हामीले त्यसलाई पारित गर्न मात्रै बाँकी छ । काम कसरी अघि बढाउने भन्नेमा छलफल गरेका छौँ । कार्यविधिलाई अन्तिम रुप प्रदान गरेका छौँ ।”
समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको छ । समितिको बैठक बिहीवार सवा १२ बजे बस्नेछ ।
–न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्