काठमाडौँ । नेपालका लागि जापानी राजदूत मायदा तोरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन्। बिहीबार मन्त्रालयमा सम्पन्न भेटवार्तामा नेपालमा जापानी सहयोगमा सञ्चालित पूर्वाधार आयोजना र आपसी सहकार्यका विषयमा छलफल भएको थियो।
भेटका क्रममा मन्त्री दाहालले जापान सरकारले नेपालमा पुर्याउँदै आएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले नेपालमा पूर्वाधार तथा यातायात क्षेत्रमा जापानले पुर्याएको सहयोग मूल्यवान रहेको उल्लेख गर्दै आगामी दिनमा थप सहकार्यको अपेक्षा पनि व्यक्त गरे।
त्यस अवसरमा राजदूत मायदाले जापान नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने बताउँदै नेपालमा जारी आयोजनाहरु प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार मन्त्री दाहाल र राजदूत मायदाबीच भएको भेटवार्तामा दुई देशको हितका विषयमा सकारात्मक संवाद भएको छ। उनले जापानी प्रविधि र लगानी नेपालमा अझै उपयोग हुने सम्भावनाबारे पनि कुराकानी भएको जानकारी दिए ।
नेपाल–जापान सम्बन्धलाई अझ सशक्त बनाउने उद्देश्यले भएको यो भेटलाई कूटनीतिक दृष्टिले समेत महत्वपूर्ण मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्