आगामी वर्ष कृषिजन्य उत्पादनको मूल्य वृद्धि हुने सचिव शर्माकाे दाबी


काठमाडाैँ । आगामी वर्ष कृषिजन्य उत्पादनको मूल्य वृद्धि हुने भएको छ ।बिहीवार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस्तो बताएका हुन् ।

अहिलेको अन्तर्राष्ट्रिय द्वन्द्वका कारण मूल्य बढ्ने उनले बताए । अब नेपालको कृषिबारे सोच्ने बेला भइसकेको बताए। उनले आन्तरिक कृषि प्रवद्र्धन गर्ने मात्रै नभइ बजारीकरणमा ध्यान दिनुपर्ने र आयातित कृषिजन्य उत्पादलहरु निरुत्साहन गर्नेदिशामा अघि बढ्न जरुरी रहेको बताए । डोमेस्टिक प्रमोसन एण्ड नेशनल प्रोटेशनको पोलिसी जरुरी रहेको उनकाे भनाइ छ ।

“अब हाम्रो कृषिलाई सोच्ने बेला भइसक्यो । हामीले अहिलेसम्म गरेको काम भनेको हामी आन्तरिक रुपमा प्रवद्र्धनको काम गरेका छौँ । बीउमा अनुदान दिन्छौँ । मलमा, भण्डारणमा अनुदान दिन्छौँ । बजार  पनि आन्तरिक बनाएका छौँ । सपोर्ट पनि गरेका छौँ । अझै व्यवस्थित हुन सकेको छैन,” उनले भने ।

समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या सिंचाईको रहेको बताए ।

उनले २२ लाख १८ हजार हेक्टर भूमिमात्रै कृषि चलनमा रहेको उल्लेख गरे। १२ लाख ९ हजार हेक्टरमा मात्रै सिंचाई भएको बताए । १२ लाख १६ हजार हेक्टरमा धान खेती गरिरहेको बताए । सांसद भुसालले सिंचाई भएको खण्डमा किसानले मल नै नपाएपनि खेती गर्ने दाबी गरे ।