उपभोक्ता समिति दलगत गुटबन्दी र विकृतिको थलो भए, काम गर्न दिनुहुँदैनः सांसद भट्टराई


काठमाडाैँ । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले विकास निर्माणको कामहरू उपभोक्ता समितिमार्फत गराउन नहुने धारणा राखेका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । उपभोक्ता समितिहरू अहिले राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बन्न पुगेको उनको टिप्पणी छ ।

विगतमा उपभोक्ता समितिमार्फत काम हुँदा ठेकेदारभन्दा प्रभावकारी हुने भएपनि पछिल्लो समय उपभोक्ता समितिहरूमा बेथितिका चाङ रहेको टिप्पणी गरे । उनले उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गर्दा दलगत गुटबन्दी र राजनीतिक विकृति फैलिएको बताए ।

उपभोक्ता समितिहरू राजनीतिक कार्यकर्ताहरूलाई बिगार्ने थलो बनेका कारण ऐन बनाएर उपभोक्ता समितिलाई कम गर्न नदिने व्यवस्था गर्नुपर्नेमा उनको जोड छ ।  उनले खानेपानी, सिंचाई तथा मलको उपलब्धताका सम्बन्धमा सरकारलाई निर्देशन गर्न समेत माग गरे ।