प्राइम सेरामिक्सकाे नयाँ शाखा भैंसीपाटीमा सञ्चालन, स्वदेशी टायल सहज पहुँचमा


काठमाडौँ । नेपाली बजारमा नविन तथा गुणस्तरीय टायल आपूर्ति गर्दै आएको प्राइम सेरामिक्स् प्रा.लि.ले आज ललितपुरको भैंसीपाटीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। ‘प्राइम टाइल्स् विथ स्टाइल’ ब्रान्डको प्रवर्धन तथा उपभोक्तासम्म सहज पहुँच विस्तार गर्ने लक्ष्यसहित कम्पनीले यो शाखा विस्तार गरेको हो।

नेपालमै पहिलो र सबैभन्दा ठूलो स्वचालित टायल उद्योगका रूपमा परिचित प्राइम सेरामिक्स्ले रौतहटको बृन्दावन नगरपालिकामा १० विघा क्षेत्रफलमा अत्याधुनिक इटालियन प्रविधिमा आधारित उत्पादन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ। कम्पनीले भित्ताको टायलदेखि भुइँका लागि समेत २५० भन्दा बढी डिजाइनमा अधिकतम २×४ फिट आकारसम्मका टायल उत्पादन गर्दै आएको छ।

भैंसीपाटीमा सञ्चालनमा आएको नयाँ शाखाबाट ग्राहकले समयमै टायल उपलब्ध गराउन सक्ने कम्पनीको विश्वास छ। साथै आर्किटेक्ट र डिजाइनरहरूले आफ्नै डिजाइन्स अनुरूप टायल उत्पादन गराउन सक्ने व्यवस्था समेत गरिएको छ।

नेपालमा वार्षिक १५ अर्ब रुपैयाँ बराबरको टायल आयात भइरहँदा प्राइम सेरामिक्सले त्यसको एक चौथाइ प्रतिस्थापन गर्ने लक्ष्य राखेको छ ।

प्राइम सेरामिक्सले ८० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर निर्माण गर्ने टायल आयातित टायलभन्दा १५–२० प्रतिशत सस्तो पर्ने जनाएको छ। हाल कम्पनीको उत्पादन क्षमताले दैनिक डेढ लाख वर्ग फिटसम्म उत्पादन गर्ने सक्नेछ भने ३०० जनालाई रोजगारी प्रदान गराएकाे छ ।

यसरी, नयाँ शाखाको स्थापनासँगै नेपाली उपभोक्ताले गुणस्तरीय, किफायती र स्वदेशमै उत्पादन भएको टायल सजिलै प्राप्त गर्न सक्ने वातावरण बनाइएको कम्पनीको दाबी छ।