नागरिकलाई आयोडिनयुक्त गुणस्तरीय नुन उपलब्ध गराउन सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आम नागरिकलाई आयोडिनयुक्त  गुणस्तरी नुन उपलब्ध गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले विश्व स्वास्थ्य सङ्गठन लगायत संस्थाहरूका पछिल्ला तथ्याङ्क नुनसम्बन्धी नीति परिवर्तन गर्नुपर्ने देखाएको उल्लेख गर्दै यसका लागि सरकारले आवश्यक काम गरिरहेको बताए ।

उनले समय समयमा बाटो बिग्रने अवस्थाका कारण दुरदराजका जिल्लाहरूमा समयमै कोटाअनुसार नुन पुर्‍याउन समस्या पर्ने गरेको बताए ।

“अहिले नुनसम्बन्धी दायित्व अर्को मन्त्रालयअन्तर्गत भएपनि यस्ता संवेदनशील विषयमा हामी सबै जिम्मेवार हुनुपर्छ । अहिले पनि नुनको मूल्यमा देशभर एकरूपता छैन । राज्यले सहुलियत दिएकै कारण काठमाडौँमा २६ रुपैयाँमा पाइने नुन बाजुरामा ९ रुपैयाँमा पाइन्छ । यो कुरालाई पनि बुझ्नुपर्छ,” उनले भने ।

समितिले आयोडिनयुक्त नुनको उत्पादन तथा वितरणसम्बन्धी कानुन परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ ।