आयोडिनयुक्त नुनसम्बन्धी ऐन परिमार्जन गर्न सरकारलाई संसदीय समितिको निर्देशन


काठमाडाैँ । प्रतिनिधि सभाअन्तर्गतको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिले आयोडिनयुक्त नुनको उत्पादन तथा वितरणसम्बन्धी कानून परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समिति सभापति अब्दुल खानले आयोडिनयुक्त नुन, उत्पादन तथा वितरण ऐन, २०५५ समय सान्दर्भिक नरहेको, अस्पष्ट व्यवस्था रहेको तथा वर्तमान परिप्रेक्ष्यमा कार्यान्वयन गर्दा व्यावहारिक देखिएको बताए ।

उनले मुलुकमा आयोडिनयुक्त नुनको आपूर्तिमा समस्या नभएपनि निजी क्षेत्रलाई आपूर्ति गर्न दिने सन्दर्भमा आपूर्ति श्रृंखला, मूल्य, गुणस्तर र दुर्गम क्षेत्रमा पने प्रभावबारे विस्तृत अध्ययन आवश्यक रहेको पनि बताए ।

समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई ऐनलाई यथाशीघ्र संशोधन गरी स्पष्ट व्यवस्था गर्न निर्देशन दिएको छ ।

साथै, संशोधन नभएसम्म नुनको आपूर्ति, ढुवानी तथा वितरण साविकअनुसार नै गर्न समेत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको छ ।