भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँः प्रधानमन्त्री ओली


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने गरी सरकारले ध्यान दिइरहेको बताएका छन्।

बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उनले नेपालमा अहिले भएका रंगशालाहरु साना भएको र अब बन्ने रंगशाला ५० हजार दर्शक क्षमता भन्दा माथिका हुने दाबी गरेका हुन्। उनले आफूले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेको बताए ।

“हाम्रा रंगशालाहरू अब साना भए । अहिलेका रंगशालाहरू साना भए । अब हामी ठूला रंगशाला बनाउँछौँ । मैले सोचेको छु, सूर्यविनायक उतापटि जगाती, चाइनिज इँटाभट्टा भन्ने थिए । त्यस ठाउँमा हामीले रंगशाला बनाउन सक्छौँ । पर्याप्त दर्शक अट्ने खालको रंगशाला बनाउनसक्छौँ । त्यो ठाउँ मैले हेरिरहेको छु,” उनले भने ।

प्रधानमन्त्री ओलीले आफू स्पेन भ्रमणमा जाँदा रियल मड्रिड रंगशालाको अवलोकन गरेको र त्यहाँका खेलाडीहरूलाई आफूले नेपालको खेल क्षेत्रको सहयोगका लागि आउन आग्रह गरेको बताए । नेपाली खेलाडी र खेल क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षभित्र त्यहाँका खेलाडीहरु ल्याउनसक्ने सम्भावना रहेको बताए ।