रासायनिक मल आपूर्तिमा सरकारको सक्रियता, एकदिनमै ५६ हजार बोराभन्दा बढी मल वितरण


काठमाडौँ । सरकारले एकै दिन कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड (साल्ट ट्रेडिङ्ग) मार्फत देशभर ५६ हजार ३६ बोरा रासायनिक मल किसानहरूसम्म पुर्‍याएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार २४ गते मात्रै कृषि सामग्री कम्पनी लिमिटेडले ३८ हजार २२ बोरा र साल्ट ट्रेडिङ्गले १८ हजार १४ बोरा मल वितरण गरेकाे हाे ।

सरकारले कृषि उत्पादनमा मलको महत्वलाई ध्यानमा राख्दै चालू आर्थिक वर्ष २०८१/८२ मा ५ लाख ५० हजार मेट्रिक टन रासायनिक मल वितरण गर्ने लक्ष्य लिएको छ। सोही लक्ष्यअनुसार हालसम्म सो परिमाणको टेण्डर सम्पन्न भइसकेको छ भने, कोही मलकाे बाेरा मार्गमै छन् र कोही मौज्दातमा रहेका छन्।

मन्त्रालयका अनुसार हालसम्म कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्गले संयुक्त रूपमा ३ लाख ८१ हजार ८८१.७ मेट्रिक टन मल आयात गरिसकेका छन्। त्यसमा कृषि सामग्री कम्पनी लिमिटेडको हिस्सा ३ लाख १० हजार ७८३.६५ मेट्रिक टन र साल्ट ट्रेडिङ्गको हिस्सा ७१ हजार ९८ मेट्रिक टन रहेको छ।

मन्त्रालयले दिएको जानकारीअनुसार स्रोत मुलुकबाट लोड भएर ३० हजार मेट्रिक टन युरिया मल कोलकाता आइपुगेको छ भने अर्को २२ हजार मेट्रिक टन युरिया कोलकातातर्फ आउँदैछ। यस्तै, ३० हजार मेट्रिक टन डीएपी मल असार २५ भित्र कोलकातामा आइपुग्नेछ भने अर्को ३० हजार मेट्रिक टन डीएपी मल पनि आउँदैछ।

हाल देशभर मौज्दात अवस्थामा युरिया मल ६५ हजार ५५७.४८ मेट्रिक टन, डीएपी १८ हजार ६३८.१ मेट्रिक टन र पोटास ७ हजार ८५३.८ मेट्रिक टन रहेको छ।

विक्री विवरण हेर्दा अहिलेसम्म युरिया मल २ लाख ५८ हजार ७७३.८ मेट्रिक टन, डीएपी १ लाख ५१ हजार ५७.५ मेट्रिक टन र पोटास १६ हजार १७७.४ मेट्रिक टन गरी कुल ४ लाख २६ हजार ८.७ मेट्रिक टन मल किसानहरूसम्म पुर्‍याइएको छ। यस वर्ष सरकारले रासायनिक मल खरिदका लागि कुल २७ अर्ब ९५ करोड रुपैयाँ बजेट छुटाएकाे थियाे ।