करिब ६ हजार साइक्लिस्ट सहभागी हुने राइड हुँदै


काठमाडाैँ । करिब ६ हजारभन्दा बढी साइक्लिस्ट सहभागी कोरा साइक्लिङ च्यालेन्जको १५औं संस्करण आगामी साउन ३ गते हुने भएको छ । 

सोसियल टुर्स, साइकल सिटी नेटवर्क नेपाल र पाङ्ग्रो आउटडोर इभेन्ट्सको आयोजनामा फरक फरक दूरी र फरकफरक स्थानमा साइक्लिङ हुनेछ ।

आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दैै यसबारे जानकारी दिएको हो । नेपालका २० भन्दा बढी स्थानहरूमा अस्ट्रेलिया, लाओस, क्यानडा, स्कटल्याण्ड र सिंगापुरलगायत देशका साइक्लिस्टले यस साइक्लिङ अभियानमा सहभागी हुनेछन् । पाटन दरबार स्क्वाइरबाट यो अभियान शुरु हुनेछ । बालबालिकाहरूका लागि दुई किलोमिटरको दूरी तय गरिएको छ । 

साथै काठमाडौँ उपत्यकामा रहेको १६५ किलोमिटरको दूरी साइक्लिस्टले पार गर्नेछन् । यसबाहेक २५ किलोमिटर, ५० किलोमिटर, ७५ किलोमिटर र एक सय किलोमिटरको दूरीमा पनि प्रतिष्पर्धा हुनेछन् ।

यो इभेन्टको मुख्य उद्देश्य सिन्धुपाल्चोकको मेलम्ची बजारनजिक रहेको दोमवार समूदायमा सौर्य गृह प्रणाली जडान गर्ने रहेको आयोजकले जनाएको छ ।

बिहान सात बजेदेखि एक सय किलोमिटर र ७५ किलोमिटरको राइड सुरु हुने आयोजकले जनाएको छ । त्यसपछि ५० किलोमिटरको राइड सुरु हुने आयोजकले उल्लेख गरेको छ ।