काठमाडौँ । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले नेपालका लागि सहायक प्रतिनिधि (कार्यक्रम) पदमा अरुण जीसीलाई नियुक्त गरेको छ। यसअघि उनी एफएओमै कार्यक्रम विशेषज्ञको रूपमा कार्यरत थिए।
एफएओमा प्रवेश गर्नुअघि उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कृषि वरिष्ठ प्रसार अधिकृतको रूपमा काम गरेका थिए।
कृषि, खाद्य सुरक्षा, पोषण, विपणन र ग्रामीण विकासका क्षेत्रमा करिब दुई दशक लामो अनुभव बोकेका जीसीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै नीतिगत तहदेखि स्थानीय परियोजनासम्म नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
कृषि अर्थशास्त्री जीसीले ट्रिभुवन विश्वविद्यालयबाट कृषिमा स्नातकोत्तर गरेका छन् भने दक्षिण कोरियाको क्युङपुक नेशनल युनिभर्सिटीबाट कृषि तथा ग्रामीण विकास विषयमा एमफिलरपीएचडी अध्ययन गरेका हुन्।
शैक्षिक क्षेत्रमै समेत सक्रिय जीसीले नेपालका विभिन्न विश्वविद्यालयमा अध्यापन गरिसकेका छन्। उनले किङ्स कलेज, हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी (हिकास्ट) लगायतका संस्थामा स्नातकोत्तर तहका विद्यार्थीलाई कृषि अर्थशास्त्र, नीतिशास्त्र तथा परियोजना व्यवस्थापन विषयमा अध्यापन गरेको अनुभव संगालेका छन् ।
एफएओको सहायक प्रतिनिधिका रूपमा अब जीसीले नेपालस्थित कार्यालयमा कार्यक्रम व्यवस्थापन, नीति निर्माणमा सहजीकरण, तथा विभिन्न सरकारी र विकास साझेदार संस्थासँग समन्वयको जिम्मेवारी सम्हाल्नेछन्। एफएओका नेपाल तथा भुटानका प्रतिनिधी केन शिमिजुले जिसीलाइ बधाइ ज्ञापन गर्दै उनको कार्यकुशलताको शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्