काठमाडौँ । आगामी २४ घण्टासम्म देशभर मनसुनी वायुको प्रभाव कायम रहने मौसम पूर्वानुमान विभागले जनाएको छ। आज बिहान ६ बजे जारी गरिएको पूर्वानुमान अनुसार देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र चट्याङको सम्भावना रहेको छ।
दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने विभागले जनाएको छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा वर्षा वा हिमपातको सम्भावना समेत रहेको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमी विश्लेषण अनुसार, हाल देशभर मनसुनी वायुले प्रभाव जमाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा रहँदा पश्चिमतिर भने सामान्य भन्दा केही उत्तरतिर सरेको देखिएको छ। यसका कारण देशका विभिन्न भागमा वर्षा प्रणाली सक्रिय भएको विभागले जनाएको छ।
दक्षिणबाट प्रवेश गर्ने मनसुनी वायुले बर्खे मौसममा वर्षा गराउने प्रमुख स्रोतका रूपमा कार्य गर्ने भएकाले सम्भावित भारी वर्षाका क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्