काठमाडाैँ । १२ जुनमा एअर इन्डिया फ्लाइट एआइ १७१ दुर्घटनामा परेकाे एक महिनापछि प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको छ।
भारतीय विमान दुर्घटना अनुसन्धान ब्यूरोले १२ जुलाईमा सार्वजनिक गरेको १५ पृष्ठको प्रतिवेदन अनुसार विमानका दुवै इञ्जिन उडानको केही सेकेन्डमै बन्द भएका थिए। दुर्घटनाको प्रमुख कारण इन्धन आपूर्ति रोकिएको ठहर गरिएको छ।
टेकअफ गरेको केही क्षणमै विमानका दुवै फ्यूल स्विच क्रमशः बन्द भएका थिए। ककपिटको अडियो रेकर्डिङमा एक पाइलटले अर्कोलाई सोधेको थिए, “तिमीले स्विच किन बन्द गर्यौ?” जवाफमा अर्का पाइलटले भनेका थिए, “मैले होइन।”
उक्त विमान १२ जुनका दिन दिउँसो १:३८ बजे अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडेको थियो। टेकअफ गरेको दुई मिनेटभित्रै, १:४० मा, विमान एक मेडिकल होस्टलको भवनमा ठोक्किएको थियो। सो दुर्घटनामा २४१ यात्रु र चालक दलका सदस्यसहित २७० जनाको ज्यान गएको थियो भने केवल एकजना यात्रु मात्रै जीवित रहेका छन्।
रिपोर्ट अनुसार विमान टेकअफ गर्दा सामान्य अवस्थामा थियो। मौसम सफा थियो, कुनै चरा ठोक्किएको प्रमाण भेटिएन र पाइलटहरू पनि चिकित्सकीय रूपमा फिट रहेका थिए। विमान करिब २०० फिटको उचाइमा पुगेपछि इञ्जिनहरू बन्द भएका थिए।
प्रतिक्रिया दिनुहोस्