झापामा नेसनल प्याब्सनको कार्यालय उद्घाटनसँगै ११५ शिक्षक सहभागी ईसीडी तालिम सम्पन्न


काठमाडौँ । नेसनल प्याब्सन झापा जिल्ला समितिले विर्तामोडमा एक दिवसीय पूर्वप्राथमिक शिक्षा (ईसीडी) तालिमसहित नयाँ कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक धर्मराज माझीले गरेका थिए। कार्यक्रममा नेसनल प्याब्सनका पूर्वअध्यक्ष पाण्डव हमाल प्रमुख अतिथि थिए। उनले कार्यक्रममा केन्द्रीय अध्यक्ष गीता क्षेत्रीको शुभकामना सन्देश समेत सुनाएका थिए । महासचिव प्रतापबहादुर थापा विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

तालिमको प्रशिक्षण नेसनल प्याब्सनकी केन्द्रीय सदस्य तथा प्रीस्कूल समिति सदस्य निता श्रेष्ठले दिएकी थिइन्। तालिममा झापा जिल्लाका ३० विद्यालयका ११५ जना शिक्षक–शिक्षिकाले सहभागिता जनाएका थिए।

कार्यक्रमको समन्वय सुवर्ण भट्टराईले गरेका थिए भने सञ्चालन देशराज नेम्बाङले गरेका थिए। कार्यक्रममा प्रदेश समिति, मोरङ जिल्ला समिति तथा नेसनल प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकालको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष हमाल र महासचिव थापाले संस्थागत शिक्षाको गुणस्तर अभिवृद्धिमा यस्ता तालिमहरू प्रभावकारी हुने धारणा व्यक्त गरे।

महासचिव थापाले आफ्नो सम्बोधनमा नेसनल प्याब्सनले काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा पूर्वप्राथमिक तहका बालबालिकाका लागि विशेष पाठ्यक्रम विकास गरिसकेको जानकारी दिए। सो पाठ्यक्रम सदस्य विद्यालयहरूमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न संस्थागत रूपमा नेसनल प्याब्सन प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे।