काठमाडौँबाट दाङ आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा २६ जना घाइते


काठमाडाैँ । काठमाडौँबाट दाङतर्फ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुमा आइतबार बिहान दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् ।

लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिका–९ वेलनदी नजिकै आफै अनियन्त्रित भई सडकको दायाँपट्टि पल्टिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जानकारी दिएको छ ।

दुर्घटना बिहान करिब ४ बजे भएको हो । तत्कालै गोरुसिङ्गे इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्य थालेको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइते सल्यान बागचौर नगरपालिका–१० का ७७ वर्षिय देवी बुढाथोकी, सल्यान शारदा नगरपालिका–१२ का ५६ वर्षिय मोहनलाल बुढाथोकी र दाङ तुलसीपुर उपमहानगरपालिका–११ का ३५ वर्षिय श्रीधर अधिकारीलाई बिहान ५:१५ बजे बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।

अन्य २३ घाइतेको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमा विभिन्न जिल्लाका यात्रु रहेका छन् ।

अस्पतालमा उपचाररत घाइतेहरूमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–८ का २८ वर्षिय मोतीलाल ऐरी, सोलुखुम्बु सोताङ गाउँपालिका–३ का २१ वर्षिय कोसिस गौतम, सल्यान चिद्दकुमाउ गाउँपालिका–२ की १९ वर्षिया अनिता चलाउने, दाङ घोराही उपमहानगरपालिका–१८ का ५२ वर्षिय सचिला नेपाली, अर्घाखाँची सितगंगा नगरपालिका–८ की ६० वर्षिया टुककुमारी श्रेष्ठ, सल्यान बागचौर नगरपालिका–१० का २५ वर्षिय चित्रप्रसाद धिताल, रोल्पा परिवर्तन गाउँपालिका–३ का ३१ वर्षिय ओमप्रकाश खड्का रहेका छन् ।

त्यसैगरी अन्य घाइतेहरूमा दाङ राप्ती गाउँपालिका–४ की २८ वर्षिया रुपा चौधरी, रोल्पा गंगादेव गाउँपालिका–३ का ३९ वर्षिय हेमराज वली, पर्वत मादी गाउँपालिकाका ३९ वर्षिय खड्कबहादुर पुन, सल्यान छत्रेश्वरी गाउँपालिका–१ का ४३ वर्षिय भीमबहादुर बि.क, सल्यान बागचौर नगरपालिका–४ का ४० वर्षिय इन्द्रबहादुर बि.क, दाङ तुलसीपुर उपमहानगरपालिका–११ का २१ वर्षिय ललित शर्मा, रोल्पा गंगादेव गाउँपालिका–३ का ३१ वर्षिय सन्दीप वली, डडेलधुरा आलीताल गाउँपालिका–४ का २२ वर्षिय विशाल बोहरा, दाङ दंगिशरण गाउँपालिका–२ की २४ वर्षीया शर्मिला नेपाली, सल्यान छत्रेश्वरी गाउँपालिका–३ की ४२ वर्षिया रश्मी बोहरा र घोराही उपमहानगरपालिका–११ का ३९ वर्षिय वेदबहादुर वली रहेका छन्।

बस दुर्घटनाको कारण प्रारम्भिक अनुसन्धानअनुसार चालकको लापरवाही वा निद्राका कारण हुनसक्ने अनुमान गरिएको छ। विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यात्रुको चाप र लामो दूरीको यात्रा गरिरहेका गाडीहरूमा यस्ता दुर्घटनाको जोखिम बढिरहेकाले सतर्कता अपनाउन ट्राफिक प्रहरीले सवारी चालकहरूलाई आग्रह गरेको छ।