रसुवा बाढीः ११ जनाको शव फेला, १७ अझै बेपत्ता


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला परेको छ ।

सरकारले आईतबारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले हालसम्म ११ जनाको शव फेला परेको बताए । अहिलेसम्म पनि १७ जना बेपत्ता रहेको उनले जानकारी दिए।

उनकाअनुसार उक्त घटनाको खोज, उद्धारका लागि एक हजार नाै सय ५० जना सुरक्षाकर्मी परिचालित गरिएको छ । स्थल उद्धार ७ सय ४९ जना, हवाई उद्धार २ सय जनाको भएको पनि बताए।

२३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, छ वटा सिंगो सवारीहरु बगेको, दुई वटा पुल पूर्ण रुपमा क्षति भएको र एउटामा आंशिक क्षति पुगेको उनले बताए ।

स्याँफ्रुबेसीबाट टिमुरेसम्मको १६ किलोसिमटर सडक धेरै ठाउँमा क्षति भएको छ। उक्त सडक खण्डमा ठाउँ ठाउँमा गरेर १ हजार २ सय मिटर सडक पूर्ण रुपमा क्षति भएको उनले बताए। तीन वटा हाइड्रोमध्ये रसुवागढी ११० मा धेरै क्षति भएको बताए ।

“हिमताल फुटेकै हो भन्ने नजिक हाम्रो अध्ययन पुगेको छ । क्षतिको कुरा गर्दा अहिलेसम्म ११ वटा शव प्राप्त भएका छन्, कुनै शव पूरा नपाइएर मानव अंग भेटिएका छन्,” उनले भने