काठमाडाैँ । सर्वोच्च अदालतले आफूलाई मान्यता दिएको दाबी गर्दै बद्री केसी समूहद्वारा एनआरएनएको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन गराउने घोषणा गरिएको छ ।
आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले आगामी १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनको तयारी तिब्र बनाएको जानकारी दिएका हो ।
हालसम्म ७२ हजार सदस्यता वितरण गरिसकेको र करिव पाँच हजार सदस्य स्वीकृत हुन बाँकी रहेको संघले जनाएको छ । वर्तमान कार्यसमिति डा. बद्री केसीको अध्यक्षतामा विधानतः कार्यरत रहेको र सर्वोच्च अदालतले समेत वैधानिकता पुष्टि गरिसकेको दाबी गर्दै संघले अगामी अक्टोवरमा महाधिवेशन गर्न कुनै रोकावट नरहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले १२औं महाधिवेशनका लागि हालसम्म १५ वटा राष्ट्रिय समन्वय परिषद्को अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए । महाधिवेशनका लागि निर्वाचन समिति, अनुगमन समिति र न्यायिक समिति समेत गठन भइसकेको उनको भनाइ छ ।
उनले संघभित्रको एकतालाई मुख्य एजेन्डा बनाउँदै सबै पक्षका लागि ढोका खुला राखिएको स्पष्ट पारे । अध्यक्ष केसीले राष्ट्रिय समन्वय परिषद (एनसीसी) देखि अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) सम्मको निर्वाचन प्रक्रियामा सबैलाई सहभागी हुन आग्रह गरिएको बताए । उनले निर्वाचन प्रक्रियामा पनि सबै पक्षलाई समानरूपमा सहभागी गराउने नीति संघले लिएको जिकिर गरे ।
संघले हालसम्म चार करोड रुपैयाँभन्दा बढी परोपकारी र मानवीय कार्यमा खर्च गरेको जनाएको छ । बाढी, पहिरो, भूकम्प तथा आगलागी पीडितका लागि राहत सहयोग, स्वास्थ्य क्षेत्रमा अक्सिजन प्लान्ट र ब्लड बस हस्तान्तरण, शिक्षा तथा खेलकुद क्षेत्रमा सहयोग लगायतका कार्यहरू संघले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्