काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री र नवप्रवर्तनमुखी स्मार्ट सहरको परिकल्पना गर्दै महत्त्वाकांक्षी नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ।
महानगरकी उपप्रमुख सुनिता डंगोलले १७औं नगरसभामा प्रस्तुत गरेकाे सो नीति तथा कार्यक्रमले काठमाडौँको मौलिकता, ऐतिहासिकता र सांस्कृतिक सम्पदालाई समेट्दै विकासको बहुआयामिक खाका अघि सारेको छ।
उपप्रमुख डंगोलका अनुसार संविधानको अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बाट प्राप्त अधिकारहरूको अधिकतम प्रयोग गर्दै समावेशी सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि, पूर्वाधार विकास, पर्यावरण संरक्षण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ। स्थानीय सतर्कता एकाई गठन, इ-कोटेशन प्रणाली, सेवा मूल्यांकन प्रणाली तथा कानुनी सेवा समयमै पुर्याउने व्यवस्था नीति कार्यान्वयनका आधार बन्दैछन्।
आर्थिक समृद्धि र समावेशी विकासका लागि ‘एक वडा, एक उत्पादन’ नीति, इन्क्युबेशन सेन्टर, उद्यमशीलता अनुदान, सहकारी सुधार योजना निरन्तरता पाउने छन्। दिगो विकास लक्ष्यहरूलाई स्थानीयकरण गर्दै बजेट विनियोजन प्रणाली समेत त्यहीअनुसार कार्यान्वयन गरिने जनाइएको छ।
महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबैको सहभागिता सुनिश्चित गर्दै सामाजिक न्यायको प्रत्याभूति दिने प्रतिबद्धता व्यक्त गरिएको छ। शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र संस्कृतिको माध्यमबाट सभ्य समाज निर्माणको खाका प्रस्तुत गरिएको छ। सामुदायिक विद्यालयहरूमा स्पोर्ट्स एकेडेमी, डिजिटल कक्षा, एसटिइएम शिक्षा र उद्यमशीलता क्लब स्थापना गरिनेछ भने अपाङ्गता भएका विद्यार्थीहरूका लागि विशेष शिक्षण केन्द्र र पहुँचयुक्त पूर्वाधार निर्माण गरिनेछ।
स्वास्थ्य सेवा सबल बनाउन ‘स्वस्थ सहर’ अभियान सञ्चालन गरिने छ, जसअन्तर्गत आधारभूत स्वास्थ्य सेवा सबै नगरवासीसम्म पुग्नेछ। मानसिक स्वास्थ्य, पोषण र आयुर्वेदजस्ता विषयमा समेत ध्यान दिइनेछ।
काठमाडौँ महानगरको मौलिक कला, भाषा, संस्कृति र सम्पदाको संरक्षण गर्दै सांस्कृतिक पर्यटन प्रवर्धन गरिने योजना पनि सार्वजनिक गरिएको छ। ‘लाइभ हेरिटेज’ अनुभव, सामुदायिक सहभागिता र प्रविधिको प्रयोगमार्फत सांस्कृतिक पर्यटनलाई रोजगारी, शिक्षा र अन्तर्राष्ट्रिय बजारसँग जोडिने लक्ष्य लिइएको छ। काठमाडौँलाई “वाकएबल सिटी”, ” लिभ, वाेर्क एण्ड एक्सपाेलर काठमाडाैँ” अभियानमार्फत नवप्रवर्तन र जीवनशैलीको आकर्षक केन्द्र बनाइनेछ।
वातावरण संरक्षणमा ‘ जिराे वेष्ट सिटी’ अवधारणाअनुसार स्रोतमै फोहोर वर्गीकरण, फोहोरबाट ऊर्जा उत्पादन, शहरी वन, सामुदायिक पुनःप्रयोग केन्द्र, ढल प्रशोधन प्रणाली र आपतकालीन सञ्चालन केन्द्र निर्माण जस्ता कार्यक्रम अघि सारिएका छन्। विपद् व्यवस्थापनका लागि भू-सूचना प्रणालीको स्थापना, खुला ठाउँको संरक्षण, सामुदायिक आपतकालीन टोलीको परिचालन र भवन बिमाको व्यवस्था गरिनेछ।
उपप्रमुख डंगोलले प्रस्तुत गरेकाे कार्यक्रममार्फत महानगरले आफ्नो ऐतिहासिक, सांस्कृतिक र सहरी सभ्यताको त्रिवेणीलाई ध्यानमा राख्दै समावेशी विकासको खाका प्रस्तुत गरेको उल्लेख गरिन्।
प्रतिक्रिया दिनुहोस्