काठमाडाैँ । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको भनिएको त्रुटी र छेडखानीबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिले छानबिन प्रक्रिया सुरू गरेको छ ।
आइतवारबाट समितिले आफ्नो छानबिन प्रक्रिया सुरू गरेको हो । संघीय संसद सचिवालयका सचिव सुरजकुमार दुरासँग बयान लिएर अनुसन्धानलाई औपचारिक रूपमा अघि बढाएको समितिका संयोजक जीवन परियारले बताए ।
प्रतिनिधि सभाबाट पारित विधेयकको प्रतिवेदनमा भएको गम्भीर त्रुटीको कारण पत्ता लगाउने कार्यादेश पाएको समितिले सचिव दुरालाई बोलाएर सोधपुछ गरेको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई प्रतिनिधि सभामा पेस भएको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ को प्रतिवेदनमा नभएको विषय थपिएपछि विवाद सिर्जना भएको थियो । विधेयकको दफा ८२ मा उपदफा (४) थपिएपछि त्यसले उपदफा (५) को व्यवस्थासँग कानूनी तादात्म्यता नमिलेको भन्दै प्रश्न उठेको थियो ।
प्रतिक्रिया दिनुहोस्