सरकारको एक वर्षे कार्यकाल मिश्रित रह्योः सांसद डा. महत


काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले नेपाली कांग्रेस–एमाले गठबन्धन सरकारको एक वर्षे कार्यकाललाई मिश्रित भएको भन्दै मूल्यांकन गरेका छन्।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद महतले स्रोत र साधनको सीमितताका कारण सबै अपेक्षाहरू पूरा गर्न नसकिएको बताएका हुन्।

उनका अनुसार निजी क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले संसदबाट पाँच वटा महत्वपूर्ण कानून पारित हुनु सरकारको उपलब्धि हो। तर, कानून निर्माणमा गति देखिए पनि सेवा प्रवाह र सुशासनका पक्षमा सरकार चुकिरहेको उनको टिप्पणी छ।

“डेलिभरी र सुशासनको पक्षमा अझै समस्या छन्। आम नागरिकले सेवा पाउन अझै झमेला, ढिलासुस्ती र लेनदेनको सामना गर्नुपरेको छ। यसमा सरकार गम्भीर हुन जरुरी छ,” उनले भने ।

उनले सरकारलाई आफ्नो संयन्त्र बलियो बनाउँदै कर्मचारीतन्त्रलाई देश र जनताको हितमा केन्द्रित गराएर सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने सुझाव दिए। “समग्र कर्मचारी क्षेत्रले जनता र देशलाई केन्द्रमा राखेर काम गरुन् भन्ने कुराको सुनिश्चितता गर्नुपर्छ,” उनले भने ।

डा.महतले सीमित स्रोत साधनबीच पनि केही सकारात्मक कामहरू भएको स्वीकार गर्दै त्यसलाई मूल्यांकन गर्दा समग्रमा सरकारको एक वर्षे कार्यकाल मिश्रित रहेको निष्कर्ष दिएका छन् ।