काठमाडौँ । चोरी पैठारी गरी ल्याएका दुईवटा कारसहित दुई जनालाई काठमाडौँका छुट्टाछुट्टै स्थानबाट गत शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
बा १६ च ३१३१ नम्बरको स्वीफ्ट कार सहित रामेछापको दोरम्बा गाउँपालिका ४ घर भइ काठमाडौँको जोरपाटी बेशीगाउँ बस्ने ४० वर्षीय धनबहादुर तामाङलाई कागेश्वरी मनोहरा नगरपालिका ८ शिवचोबाट नियन्त्रणमा लिएको छ। त्यस्तै, बा १६ च ४० १७ नम्बरको स्वीफ्ट कार सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ का ३९ वर्षीय मोहन लामालाई काठमाडौँको बौद्धबाट नियन्त्रणमा लिइएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार अनुसन्धानको क्रममा दुईवटा कारहरू यातायात व्यवस्था कार्यालय एकान्तकुना र सम्बन्धित सुजुकी आधिकारिक कम्पनीमा अभिलेखमा नभेटिएका कारण थप अनुसन्धान र कारबाहीका लागि उक्त कारहरू आज (आईतबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरन पठाइएको छ।
प्रहरीले चोरी कारहरूको पैठारी गर्ने गिरोहसमेत पहिचान गरी अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्