काठमाडाैँ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि कुल १० लाख ९५ हजार ४०० कित्ता आइपिओ जारी गर्न लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० लाख रुपैयाँबराबरको प्रति सेयर रू. १०० अंकित दरका ५८ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ ।
जारीपुँजीको २ प्रतिशत अर्थात रु. १०० अङ्कित दरका ५ लाख ६६ हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्र अर्थात तनहुँको बन्दीपुर गाउँपालिकाका सबै वडाहरू,आँवुखैरेनी गाउँपालिकाका सबै वडा,भानु नगरपालिका वडा न. १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा न. ७ का स्थानिय बासिन्दाका लागि जारी गरिने छ ।
यस्तै सर्वसाधारणका लागि छुट्टाइएको ५२ लाख ९४ हजार सेयरमध्येको १० प्रतिशत अर्थात रु. १०० अङ्कित दरका ५ लाख २९ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिनेछ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपिओ निष्कासन बन्द छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गते हुने कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारीमा रहेका लागि भने आइपिओ निष्कासन बन्द छिटोमा साउन ९ गते र ढिलोमा भदौ २० गते बैंकिङ समयपछि हुनेछ ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ, बन्दीपुर केवुलकारको काठमाण्डौ कालिमाटी कार्यालय,बन्दीपुर केबलकारको तल्लो स्टेसन,आँबुखैरेनी गाउँपालिकाको कार्यालय,भानु नगरपालिकाको वडा न.१ को कार्यालय र पालुङटार नगरपालिका वडा न. ७ को कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सकिने उल्लेख छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।
कम्पनीले दोस्रोचरण अन्गगर्त आम सर्वसाधारणका लागि जारीपूँजीको १८.७०७६ प्रतिशत अर्थात ५२ लाख ९४ हजार कित्ता सेयर जारी गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्