काठमाडौँ । जिल्ला धनुषाको सबैला नगरपालिकामा सार्वजनिक सम्पत्तिको दुरुपयोग र हिनामिनाको आरोपमा तत्कालीन इन्जिनियर रञ्जित कुमार यादवसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार सबैला नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्राको साना व्यवसायिक कृषि उत्पादन पकेट विकास कार्यक्रम सञ्चालन गर्न विनियोजित १५ लाख रुपैयाँ अनियमित रूपमा प्रयोग गरेको अनुसन्धानबाट पुष्टि भएको हो।
अनुसन्धानका क्रममा नगरपालिका तथा अर्चना कृषि सहकारी संस्था लिमिटेडबिच सम्झौता गरी बाख्रा वितरण गरिएको देखाइएको भए पनि, खरिद गरिएको भनिएका बोका, पाठी, च्यापक र डाले घाँसहरू वितरण भएको प्रष्ट विवरण फेला परेन।
अर्चना कृषि सहकारीले खरिद गरेको भनिएको सामग्री राधा कृषि फर्मबाट लिएको बताइएको भए तापनि, फर्मले आफैंले ती सामग्री नबेचेको बताएको छ। साथै आन्तरिक राजस्व कार्यालय, जनकपुरको अभिलेखअनुसार सो आर्थिक वर्षमा राधा कृषि फर्मले कुनै कारोबार नगरेको देखिएको छ।
उक्त परियोजनामा झुटा विल र कागजात तयार गरी १४ लाख ७७ हजार ५ सय रुपैयाँ हिनामिना र सरकारी कोषलाई हानिनोक्सानी पुर्याइएको ठहर गर्दै, दोषी देखिएका तत्कालीन वडा अध्यक्ष, इन्जिनियर, सहकारी संस्था सञ्चालकसहित सात जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्