लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छः सभापति देउवा


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्।

मंगलवार काठमाडौँमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका हुन् ।

लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने बताए । उनले उत्पादित विद्युतको खपत र व्यापार गर्ने दायित्व सरकारको भएको पनि उल्लेख गरे । यसका लागि निजी क्षेत्रलाइ पनि सहभागी गराउनु जरुरी रहेको बताए ।

जलविद्युत आयोजनाहरुको आइपिओ निष्कासन रोक्नु गलत भएको र धितोपत्र बोडृले चाँडै शेयर निष्कासन गर्ने बताए । उर्जा क्षेत्र नेपालमा प्रकृतिले दिएको सम्पती भएको बताए । पूर्वप्रधानमन्त्री देउवाले ग्रिन इनर्जीमा बढी जोड दिन पनि आग्रह गरे ।

“अहिले उत्पादन विद्युत खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो । यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनु जरुरी छ । लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्छ । लगानीकर्तालाई दुःख दिने भन्नेकुरै छैन । स्वदेशी तथा विदेशी लगानीकर्तालाई पनि नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ,” उनले भने ।

सभापति देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछि देशले अघि बढाएको उदारवाद निजीकरणको नीति रहेको बताए। यसको कार्यान्वयनका क्रममा भएका कमजोरीको अन्त्य गरी निजी क्षेत्रलाइ थप प्रोत्साहित गर्नुपर्ने बताए ।