पूर्वअर्थमन्त्री पुनको टिप्पणी : अर्थ मन्त्रालयको महाशाखाजस्तो संरचनाले वैकल्पिक वित्त परिचालन सम्भव छैन


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयको महाशाखाजस्तो संरचनाले वैकल्पिक वित्त परिचालन सम्भव नभएको टिप्पणी गरेका छन् ।

ठुला पूर्वाधार विकासका लागि वैकल्पिक वित्त परिचालन जरुरी रहे पनि अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक वित्त परिचालनका लागि प्रस्ताव गरेको सङ्गठन संरचना भने कमजोर रहेको टिप्पणी गरे ।

पूर्वअर्थमन्त्री पुनले अर्थ मन्त्रालयको शाखा÷महाशाखाजस्तो प्रस्तावित संरचनाले वैकल्पिक वित्तका लागि लगानी जुटाउन र खर्च गर्न नसक्ने स्पष्ट गरे ।

प्रस्तावित अवधारणाअनुसारकै संरचना बने वैकल्पिक वित्त परिचालनबाट लाभ नमिल्नुका साथै सरकारमाथि थप अविश्वास बढ्ने उनको टिप्पणी थियो ।

“अर्थमन्त्रीजीले प्रस्ताव गर्नुभएको संरचना हेर्दा अर्थ मन्त्रालयको शाखा÷महाशाखाजस्तो छ । अर्थ मन्त्रालयको सचिव बस्ने सह–सचिव बस्ने, पूर्वाधारसम्बन्धी मन्त्रालयको सहसचिव बस्ने अनि कोष भनेर कसरी आउँछ विदेशी बैंकहरु ग्रिन फण्डहरु ?”, पुनले भने, “अर्थ मन्त्रालयको महाशाखाजस्तो संरचना बनाएर लगानी जुट्दैन । खरब–खरबको बजेट परिचालन गर्ने संरचना यो हुन सक्दैन ।”

अर्थमन्त्री पौडेलले मंगलबार प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को सैद्धान्तिक छलफलमा भाग लिँदै पुनले ठुला पूर्वाधार विकासमा वैकल्पिक वित्त परिचालन ढिला भइसकेको बताए ।

विश्व अर्थतन्त्र सङ्कटमा रहेको, भू–राजनीतिक तनाबले विदेशी सहयोग वा लगानीका सम्भावना सीमित भएको तथा नेपाल छिट्टै अल्पविकसितबाट विकाशशील देशमा स्तरान्नती हुँदै गरेको अवस्थामा वैकल्पिक वित्तको खोजी गर्न ढिला गर्न नहुनेमा उनको जोड थियो ।

राजश्वबाट दैनिक प्रशासनिक खर्च धान्नसमेत मुस्किल रहेको विद्यमान अवस्थामा पूर्वाधारमा लगानी गर्ने श्रोतको सीमितता रहेको चर्चा गर्दै उनले वैदेशिक लगानी, निजी क्षेत्र तथा वैदेशिक रोजगारीमा रहेको नेपाली समुदायसँगको सहकार्यमा वैकल्पिक पुँजी परिचालन गर्न सक्नुपर्ने औंल्याए ।

वैकल्पिक वित्त परिचालन विश्वभर चल्तीमा रहेको नयाँ अवधारणा भन्दै उनले विधेयक ल्याएकामा सरकारलाई धन्यवाद पनि दिए । विधेयकमाथि सक्रिय छलफल गरी परिस्कृत गरी यो अवधारणालाई साथर्क बनाउन आफ्नो दलका तर्फबाट पूरै सहयोग हुने प्रतिबद्धता पुनले जनाए ।