काठमाडौं । मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले नेपालमा उच्च बृद्धिसम्भावना भएका व्यवसायहरूलाई सशक्त बनाउन निजी इक्विटी फण्ड, अवसर इक्वीटी डाइभर्सिफाइड फण्डबाट झण्डै ३८ करोड रुपैयाँ बराबरको रणनीतिक लगानी भित्र्याउने भएको छ ।
कम्पनीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो रणनीतिक लगानी एमआईएलको बृद्धिविकास यात्रा र भविष्यप्रतिको लगानीकर्ताको गहिरो विश्वासलाई संकेत गर्ने ऐतिहासिक उपलब्धि भएको दाबी गरेको छ । यो लगानीबाट कम्पनीलाई आफ्ना कार्यसंचालन प्रक्रियाहरुको सुदृढीकरण गर्न, उत्पादनमा नवप्रबर्तन ल्याउन तथा नेपाल र बाहिरी बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्ने कम्पनीले जनाएको छ ।
“हामी अवसर इक्वीटी डाइभर्सिफाइड फण्डलाई हाम्रो रूपान्तरण यात्रामा रणनीतिक साझेदारका रूपमा स्वागत गर्न पाउँदा खुशी छौं ,”मंगलम इन्डस्ट्रिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अभिनव चुरिवालले भने, “यो लगानीले हाम्रो व्यवसायिक मोडेललाई पुर्नपुष्टि मात्रै नगरी, हाम्रो कर्मचारी, डिलर, ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरूको लागि ठूलो उत्प्रेरणा प्रदान गरेको छ जसले हाम्रो भविष्यको सफलताको आधार तयार गर्नेछ ।”
अवसर इक्वीटी डाइभर्सिफाइड फण्डसँगको सहकार्यमार्फत कम्पनीले नयाँ अवसरहरूको खोजी गर्ने र नवप्रबर्तन तथा गुणस्तरका नयाँ मापदण्ड तय गर्ने अपेक्षा राखेको जनाएको छ ।
मंगलम इन्डष्ट्रिज पाइप र फिटिङ्स उत्पादन गर्ने अग्रणी उत्पादक कम्पनी हो भने अवसर इक्वीटी डाइभर्सिफाइड फण्ड नेपालकै पहिलो स्वदेशी निजी इक्विटी फण्ड हो ।
प्रतिक्रिया दिनुहोस्