काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालमा जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक ल्याएको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलावारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री दाहालले यस्तो बताएका हुन् । उनका अनुसार हाल देशभित्रका नदी, ताल र तलाउहरूमा हाल करिब १२० भन्दा बढी मोटरबोटहरू मनोरञ्जन र यातायातको लागि सञ्चालनमा रहेका छन् ।
यी मोटरबोटहरुको नियमन आवश्यक रहेको मन्त्री दाहालले बताए । उनले हजारौं नेपाली उच्च समुद्रमा पानीजहाजमा काम गरेर देशमा रेमिट्यान्स पठाइरहेका भएपनि परिचयपत्र तथा अभिलेख राख्ने व्यवस्था नहुँदा उनीहरूको पेशा नै संकटमा पर्न थालेकोले कानून अपरिहार्य भएको बताए ।
“देशभित्रका नदीहरू तथा ताल तलैयाहरूमा साना ठुला गरी करिब १२० भन्दा बढी मोटरबोटहरू मनोरञ्जन तथा यातायातको लागि सञ्चालन भइराखेका छन् । जल यातायतसम्बन्धी कुनैपनि कानून नहुँदा हाल सञ्चालनमा रहेका जल यानहरूकाे जलमार्ग तोक्ने, नियमन गर्ने, चलक अनुमति पत्र दिने, यात्रु बिमा गर्ने लगायतका कार्यहरू हुन नसकि अव्यवस्थित रूपमा सञ्चालन भइरहेको तथा विस्तार हुन नसकेको अवस्था छ,” उनले भने ।
राष्ट्रिय सभामा उत्पत्ति भएको पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयकले नेपाली भौगोलिक सीमाभित्र जल यातायातलाई व्यवस्थित गर्न मार्गचित्र तोक्ने, इजाजतपत्र वितरण गर्ने, बिमा व्यवस्था गर्ने र आवश्यक नियमन गर्ने मिलाउने उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्