काठमाडौँ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेल घुससहित रंगेहात पक्राउ परेका छन्।
पौडेलले सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरेर दिने, लिखित परीक्षा पास गराइदिने तथा ट्रायल परीक्षामा समेत उत्तीर्ण गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस लिएको अवस्थामा पौडेललाई आज नियन्त्रणमा लिइएको हो। अहिले उनीमाथि थप अनुसन्धान भइरहेको आयाेगले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्