खेलकुद विकासका लागि चीनले दियो करिब ८५ लाख रुपैयाँ बराबरकाे खेल सामग्री


काठमाडाैँ । नेपाली खेलकुदका लागि चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले खेल सामाग्री र स्वास्थ्य परीक्षणको उपकरणसहित ठूलो मूल्य बराबरको सहयोग गरेको छ । 

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार एक कार्यक्रमबिच चीनको युनान खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई उक्त सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको हो ।

सो कार्यक्रममा नेपालस्थित चिनियाँ दुतावासका डेपुटी चिफ दी मिसन वाङ झिनले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई उक्त सामग्री हस्तान्तरण गरेका छन् ।

विभिन्न ३४ प्रकारका उक्त सामाग्री करिव ८५ लाख रुपैयाँ बराबर रहेको राखेपले जनाएको छ । यसअघि नै यो सामग्री किन्नका लागि चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले चेक प्रदान गरेको थियो । 

गत वर्ष कात्तिक २४ गते पोखरामा सम्पन्न एक कार्यक्रमका बीच युनान प्रादेशिक खेलकुद ब्युरोले तत्कालीन समयमा राखेपकी निमित्त सदस्यसचिव अञ्जना श्रेष्ठ मास्केलाई उक्त चेक हस्तान्तरण गरेको थियो । सोही रकम बराबरको खेल सामाग्री मंगलबार राखेपलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा चिनियाँ दूतावासका कन्सुल वाङ दोङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य अञ्जन धमला, प्रकाशकुमार कुसारी र हिमालकुमार श्रेष्ठ, विभिन्न विभागका प्रमुख, मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडी र प्रशिक्षक लगायतको उपस्थित थिए ।

सो अवसरमा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिँदै सामग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सदस्यसचिव टंकलाल घिसिङले नेपाल र चीनबिच धेरै क्षेत्रमा राम्रो सम्बन्ध स्थापित भएको उल्लेख गर्दै हरेक वर्ष सहयोगले निरन्तरता पाउने प्रतिवद्धता पाएको विश्वास व्यक्त गरेका छन् ।

साथै घिसिङले २० औं एशियाली खेलकुद आउन १३ महिना मात्र बाँकी रहेको र दृढ संकल्पका साथ प्रशिक्षण अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले अबको दुई हप्ताको अवधिमा मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीहरूको शारीरिक र खेलगत अवस्थाको परीक्षण गरिने पनि उल्लेख गरे ।

साथै उनले त्यसपछि खेल संघसँग समन्वय गरी प्रशिक्षणलाई अगाडि बढाइने बताएका छन् । डेपुटी चिफ दि मिसन वाङले नेपाली खेलकुदको विकास थोरै भए पनि टेवा पुग्ने उल्लेख गर्दै विगतमा पनि खेल क्षेत्रमा सहयोग गरेको स्मरण गरे । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहताले चीन सरकारले विगतका दिनमा सहयोग गर्दै आएको बताए ।