काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको दिगो विकासका लागि सबैभन्दा महत्वपूर्ण स्रोत बन्न सक्ने बताएका छन्।
भियतनामको राजधानी हनोईमा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) द्वारा आयोजित ‘एक देश, एक प्राथमिक उत्पादन’ पहलसम्बन्धी उच्चस्तरीय अन्तर क्षेत्रीय संवादमा सहभागी हुँदै मन्त्री अधिकारीले यस्तो धारणा राखेका हुन् ।
दुई दिनसम्म चलेको सो कार्यक्रममा एसिया र अफ्रिकाका विभिन्न देशका कृषि मन्त्री तथा उच्च सरकारी प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मन्तव्य दिँदै मन्त्री अधिकारीले जलवायु परिवर्तनको बढ्दो असर र अन्तर्राष्ट्रिय बजारमा देखिएका चुनौतीका बिच विकासशील राष्ट्रहरूले आपसी सहकार्य र अनुभव साटासाट गर्नुपर्नेमा जोड दिए।
“जलवायु परिवर्तनको असर र बजारको समस्या बढ्दै गएको अहिलेको अवस्थामा, विकासशील राष्ट्रहरूको साझा अनुभव नै सबैभन्दा ठूलो स्रोत हुन सक्छ,” मन्त्री अधिकारीले भने। उनले नेपालले उच्च मूल्ययुक्त ठूलो अलैंचीजस्ता उत्पादनमा विशेष ध्यान दिइरहेको उल्लेख गर्दै यसको प्रशोधन, मूल्य अभिवृद्धि र कृषि उद्यमशीलतामा थप लगानी आवश्यक रहेको बताए ।
कार्यक्रमकै अवसरमा मन्त्री अधिकारीले भियतनामका उप–कृषि तथा ग्रामीण विकास मन्त्री होआङ त्रुङसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटमा नेपाल–भियतनामबिच कृषि व्यापार विस्तार, प्राविधिक सहकार्य, र संयुक्त अनुसन्धानको सम्भावनाबारे विस्तृत छलफल भएको थियो।
दुवै पक्षबिच जडीबुटी र मसला उत्पादनमा व्यापार प्रवर्द्धन, कटनीपछिको प्रविधि (पोस्ट–हार्वेस्ट टेक्नोलोजी), कृषि डिजिटलाइजेसन, जलवायु–स्मार्ट कृषि प्रणाली, युवा उद्यमशीलता, र कृषि व्यवसायसम्बन्धी तालिम आदान–प्रदान जस्ता विषयमा सहकार्य विस्तार गर्ने समझदारी भएको मन्त्री अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्