काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरुलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान गरेका छन् ।
बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै लार्भा उत्पादन हुने आधारहरुलाई नष्ट गर्न सरसफाई अभियान सुरु गर्न आग्रह गरे ।
साउन, भदौ, असोज र कार्तिक महिनामा डेंगीको संक्रमण उच्च हुने भन्दै ४ महिनामा कुनैपनि निर्माणको काम नगर्न, निर्माणका सामग्रीहरु जताततै नफाल्न, खाल्डो नखन्न, पानी जम्ने खाल्डोहरु पुर्न र फालिएका टायरहरु व्यवस्थापन गर्न आग्रह गरे ।
मन्त्री पौडेलले भने, ‘सरकारी सबै कार्यालयलाई लामखुट्टेरहित, लार्भारहित बनाऔँ । यसको उत्पादन हुने आधारहरु हो, त्यसलाई नष्ट गरौँ । यो ४ महिना कुनैपनि निर्माणको काम नगरौँ । यो ४ महिना निर्माणका सामग्री यत्रतत्र फाल्ने काम नगरौँ । यो ४ महिना कहीँ पनि खाल्डो नखनौँ । यो ४ महिना कतैपनि पानी परेको छ भने त्यो जम्न नदिउँ । कहीँ टायरहरु छन् भने त्यसलाई व्यवस्थापन गरौँ । लार्भा उत्पादनका जति पनि आधार छन् ति सबै नष्ट गरौँ । यो गर्न धेरै नसकिने कुरा पनि होइन ।
सरकारी कार्यालयहरु जोगाउनसके दर्जनौँ मानिसहरुलाई डेंगुबाट जोगाउन सकिने भन्दै मन्त्री पौडेलले डेंगुबारे सचेतना अभियान फैलाउनसके डेंगी फैलिनबाट रोक्न सकिने बताए ।
मन्त्री पौडेलले डेंगुबाट जोगिन आफू बसेको ठाउँलाई लार्भारहित बनाउन आग्रह गर्दै आफूले आफूलाई सुरक्षा गर्नसके मात्रै अरुलाई सहयोग गर्न सकिने बताए ।
मन्त्री पौडेलले हरेक शुक्रवार (साउन, भदौ, असोज र कार्तिक महिना) प्रभावकारी रुपमा सरसफाईमा लाग्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्