नेपाल इभी युगमा प्रवेश गरिसक्यो, अब रोक्न सकिन्नः मन्त्री दाहाल


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालले विद्युतीय सवारीसाधन (इभी) को युगमा प्रवेश गरिसकेको घोषणा गरेका छन् ।

काठमाडौँमा आयोजित महानगर यातायात प्रा.लि.को विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री दाहालले अबको यातायात प्रणाली दिगो, सुरक्षित र वातावरणमैत्री हुने बताएका हुन् । “अब इभीको सुरुआत भइसकेको छ, यसलाई कसैले रोक्न सक्दैन,” उनले भने ।

उनका अनुसार नेपाल अझै यातायात पूर्वाधारमा पछि रहे पनि पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति भइरहेको छ । “पूर्वदेखि पश्चिमसम्म फैलिएका राजमार्ग र उत्तर–दक्षिण करिडोरहरू रहर लाग्दो तवरले निर्माण हुँदैछन्,” मन्त्री भने, “यी करिडोरहरूलाई त्रिदेशीय कनेक्टिभिटीको रूपमा विकास गर्दैछौं, जसले नेपाललाई भारत र चीनसँग जोड्नेछ ।”

संघीय संरचनामा गएपछि कतिपय अधिकारको प्रयोगमा अस्पष्टता देखिएको उल्लेख गर्दै मन्त्री दाहालले समन्वयमार्फत समस्या समाधान गर्न सरकार लागेको बताए ।

ड्राइभिङ लाइसेन्स वितरण प्रणालीको सुधारसम्बन्धी विषयमा उहाँले आफू मन्त्री भएपछि प्रयास गरेर समस्या समाधान गरिएको बताए । “अब साउन १ गतेदेखि लाइसेन्स वितरण गर्ने जिम्मा प्रदेश सरकारलाई दिइएको छ,” उनले भने ।

सरकार दिगो, भरपर्दो र वातावरणमैत्री सडक निर्माणमा प्रतिबद्ध रहेको मन्त्री दाहालले बताए ।उनले विश्व बैंक, एडीबी र जापानको सहयोग नियोग जाइकाको सहकार्यमा सडक पूर्वाधार निर्माण भइरहेको जानकारी दिए ।

सार्वजनिक यातायातलाई आधुनिक बनाउने उद्देश्यले क्यासलेस प्रणाली लागू गर्ने र साना सवारी विस्थापन गर्ने नीति सरकारले लिएको पनि उनले स्पष्ट पारे ।