काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात क्षेत्रलाई प्रविधियुक्त, दिगो र स्तरीय बनाउन सरकार गम्भीर रहेको बताएका छन्।
बुधबारदेखि सुरू भएको विद्युतीय बस सेवाको शुभारम्भ कार्यक्रममा मन्त्री दाहालले प्रविधिको प्रयोगमार्फत यातायात सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्।
महानगर यातायात प्रालिले सुरू गरेको एकसाथ १२ वटा ठूला यात्रुबाहक विद्युतीय बस सेवाको उद्घाटन गर्दै मन्त्री दाहालले सार्वजनिक यातायात क्षेत्रमा निजी क्षेत्रको योगदानप्रति प्रशंसा व्यक्त गरे। उनले विद्युतीय भुक्तानी प्रणालीलाई अब ढिला नगरी अनिवार्यरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राखे ।
“विद्युतीय भुक्तानी अहिले सामान्य व्यवसायमा समेत प्रयोग हुँदैछ,” मन्त्री दाहालले भने, “तर सार्वजनिक यातायातमा यसको प्रयोगमा अझै पनि ढिलाइ भइरहेको छ। अब ढिलो नगरौँ, सरकार तयार छ।”
उनले सडक तथा पूर्वाधार निर्माणमा दिगोपन, गुणस्तर र प्रविधिमैत्री दृष्टिकोणलाई सरकारले प्राथमिकता दिएको पनि बताए ।
कार्यक्रममा बागमती प्रदेशका श्रम तथा भौतिक पूर्वाधार मन्त्री प्रेमभक्त महर्जनले संघीयता अनुसार प्रदेशले यातायात क्षेत्रको नियमन र व्यवस्थापनमा भूमिका खेलिरहेको स्पष्ट पारे । त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सेवा प्रवाहमा नीतिगत सुधारका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै व्यवसायीहरूले गरेको प्रयास सराहनीय रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र किरण केसीले पनि सार्वजनिक यातायातलाई पहुँचयोग्य, सुरक्षित र स्तरीय बनाउनुपर्नेमा जोड दिए । महानगर यातायात प्रालिले सार्वजनिक यातायातमा सुधार ल्याउने उद्देश्यसहित प्रारम्भमा विद्युतीय बस सञ्चालन थालेको जानकारी दिएको छ। कम्पनीले एकैपटक १२ ओटा ठूला यात्रुबाहक विद्युतीय बस सडकमा उतारेको हो।
प्रतिक्रिया दिनुहोस्