काठमाडौँ । नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेको नेतृत्वमा नयाँ पदाधिकारीहरूले बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अर्थ मन्त्रालयमा छलफल गरेका छन्।
परिसंघका अध्यक्ष पाण्डेले सरकारले उत्पादन प्रोत्साहन गर्ने उद्देश्यले ल्याएको बजेट र त्यसलाई समर्थन गर्ने मौद्रिक नीति आर्थिक सुधारको दिशामा सकारात्मक रहेको भन्दै निजी क्षेत्रले अर्थतन्त्रमा सुधार आउने आशा गरेको बताएका छन्।
उनले आगामी एक दशकभित्र मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर पुर्याउने र दोहोरो अंकको आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य रहेको र यसका लागि आठ वटा मुख्य क्षेत्रलाई प्राथमिकतामा राखेर विस्तृत अध्ययन थालिएको जानकारी दिएका छन्।
अध्यक्ष पाण्डेले सरकारलाई उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्न, चोरी–पैठारी नियन्त्रणका लागि कडाइ गर्न र उधारो उठाउने ऐन ल्याउन आग्रह पनि गरेका छन्।
अर्थमन्त्री पौडेलले नवनिर्वाचित समितिलाई बधाई दिँदै परिसंघले उठाएका विषयलाई गम्भीरतापूर्वक लिएको उल्लेख गरे। उनले आयोगको प्रतिवेदन सरकारले अपनाएको र कार्यान्वयनको प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिएका छन्। साथै अवैध कारोबारले सरकारको राजश्वमा ठूलो असर परेको हुँदा सीमा क्षेत्रमा कडाइ गर्न आवश्यक रहेको बताए।
मन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा पनि निजी क्षेत्रबाट रचनात्मक भूमिका खेल्न आग्रह गरे।
छलफलमा निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरू राजबहादुर शाह, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्य विदूषी राणा, महानिर्देशक डा.घनश्याम ओझा लगायत सहभागी थिए।
प्रतिक्रिया दिनुहोस्