काठमाडाैँ । नेपाली डिजिटल भुक्तानी क्षेत्रका दुई प्रमुख वालेट सेवाहरू आइएमई पे र खल्ती अब ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत भएका छन्। आजदेखि औपचारिक रूपमा आइएमई खल्ती लिमिटेड नामक नयाँ कम्पनीमार्फत संयुक्त कारोबार सुरू भएको हो।
यो मर्जरपछि सेवाग्राही संख्या १ करोड २७ लाख नाघेको छ भने नयाँ कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ। सेवाग्राही र पुँजी दुवैको हिसाबले ‘खल्ती बाइ आइएमई’ अहिले देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बन्न पुगेको छ।
दुबै वालेटले अघिल्ला करिब एक दशकदेखि डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए। आइएमई पे ब्याज दिने एकमात्र वालेटका रूपमा परिचित रहँदै रेमिटेन्स तथा इनड्राइभ भुक्तानी सेवामा अग्रणी रहँदै आएको थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र इनोभेटिभ फिचरहरूका कारण युवापुस्तामा निकै लोकप्रिय रहेकाे कम्पनीकाे दाबी छ।
अब यी सेवाहरू एउटै एपमा समेटिएका छन्। नयाँ ‘खल्ती बाइ आइएमई’ एपमार्फत प्रयोगकर्ताहरूले अझ सरल, सुरक्षित र परिष्कृत सेवा अनुभव गर्न सक्नेछन्। साबिक आइएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आइएमई’ मा माइग्रेट हुने सुविधा उपलब्ध छ। यो प्रक्रिया अन्तर्गत उनीहरूको मौज्दात रकम, ब्याज, रिवार्ड प्वाइन्ट र सबै विवरण नयाँ एपमा स्थानान्तरण हुनेछ। खल्ती प्रयोगकर्ताहरूले चाहिँ एप अपडेट गरेर नयाँ सुविधा उपयोग गर्न सक्नेछन्।
आइएमई डिजिटल सोलुसन्स का अध्यक्ष कृष्ण प्रसाद शर्माले यो मर्जरले डिजिटल नेपाल को सम्भावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। त्यस्तै, खल्ती का अध्यक्ष मनोज कुमार अग्रवालले यो एक ऐतिहासिक कदम भएको भन्दै आइएमई खल्ती लिमिटेड ले दीर्घकालीन समृद्धिको आधार तयार पार्ने बताए । प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच, साक्षरता र समावेशीकरणका लागि नयाँ योजना सार्वजनिक गर्ने जानकारी दिए।
दुबै कम्पनीले आज विशेष कार्यक्रम गरी एकीकृत कारोबारको औपचारिक घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्