विद्युत आयोजना निर्माणको लागि उपकरणको सहज उपलब्धता गरिदिन इप्पानको आग्रह


स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले विद्युत आयोजनाहरुको निर्माणका लागि आयातित उपकरण फिर्ता लैजाँदा उर्जा क्षेत्रले समस्या भोग्नुपरेको गुनासो गरेका छन् ।

बिहीवार विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।स्वदेशी लगानीमै ठूला जलविद्युत आयोजनाहरू निर्माण भइरहेका बेला आवश्यक उपकरण विदेशबाट ल्याउनुपर्ने र आयोजना सम्पन्न भइसकेपछि फिर्ता गर्नुपर्ने बाध्यता रहेको बताए ।

उनले विद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने उपकरण र प्रविधिको सहज उपलब्धता गरिदिन सरकारसँग आग्रह पनि गरे । 

“अहिले स्वदेशी लगानीमै विद्युतका ठुला ठूला आयोजनाहरू निर्माण कार्य सुरू गरेका छौं । यसका लागि विदेशबाट इक्युपमेन्ट लिएर नेपालमा काम गर्नुपर्ने र निर्माणसम्पन्न भइसकेपछि फिर्ता लैजाने कुराले हामीलाई निकै अप्ठ्यारो परेको छ । त्यो मागलाई सम्बोधन गर्नको लागि म माननीय मन्त्रीज्युसहितलाई अनुरोध गर्न चाहन्छु,” उनले भने ।

उनले सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यअनुसार काम गर्न निजी क्षेत्र उत्साहित रहेको पनि बताए ।